- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छसङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- कोरोनाभाइरसबाट विश्वभरि कहाँ कति सङ्क्रमण र मृत्यु
- कोरोनाभाइरस कहिले रोकिन्छ?

Source Url: https://www.bbc.com/nepali/news-51993239
सङ्खुवासभाका ६६ वर्षीय लीलाबहादुर राईको गत मङ्गलवार लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको हो।
स्वर्गीय राईका छोरा विकास राईले बाथ रोगबाट पीडित आफ्ना बुवालाई झन्डै तीन साता अस्पतालमा राखेपछि गत साता अस्पतालले डिस्चार्ज गरेको बताए।
उनले भने, "त्यसको ३-४ दिन पछि उहाँको स्वास्थ्य बिग्रियो, सास फेर्न गाह्रो भयो। त्यसपछि हामीले उहाँलाई मङ्गलवार दिउँसो फेरि अस्पताल पुर्यायौँ, तर त्यहीँ बेलुका उहाँको निधन भयो।"
कसरी भयो सङ्क्रमण?
उनले अस्पतालले फोन गरेर आफ्ना बुवाको निधन कोरोनाभाइरसको सङ्क्रमणबाट भएको जानकारी दिएको पनि बताए।
स्वर्गीय राईको झन्डै २५ वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो।
सन् २००८ देखि उनी बेलायतमा बसोबास गर्दै आएका थिए।
अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट नेपालीले ज्यान गुमाएको औपचारिक जानकारी सार्वजनिक भएको थिएन।
उनमा कोरोनाभाइरसको सङ्क्रमण कसरी भयो भन्ने आधिकारीक जानकारी दिइएको छैन।
तर छोरा विकास राईले आफ्नो बुवा अस्पतालमै सङ्क्रमित भएको हुनसक्ने आशङ्का गरेका छन्।
परिवारका सदस्य आइसोलेशनमा
अहिले स्वर्गीय राईको परिवार आफ्नो घरभित्रै अलग्गै (आइसोलेशनमा) बस्दै आएको छ ।
विकास राईले भने, "हामीहरू घरभित्रै बसेर तातो पानी, सुप आदि खाइरहेका छौं, घर बाहिर कतै निस्केका छैनौं।"
सबै प्रक्रिया पूरा भएपछि बुवाको अन्त्येष्टि ब्रिटेनमै गर्ने योजना रहेको पनि उनले सुनाए।
नेपाली समुदायमा कसैको घरमा परिवारका सदस्यको देहावसान भए घरमै गएर सहानुभूति तथा समवेदना व्यक्त गर्ने प्रचलन छ।
तर सङ्खुवासभा समाज यूकेले आफ्ना सदस्यहरूलाई समवेदना व्यक्त गर्न स्वर्गीय राईको घरमा नजान भनेको छ।
कोरोनाभाइरसको सङ्क्रमणका कारण त्यस्तो सावधानी अपनाउनु परेको समाजले जनाएको छ।
'देशले दिइरहेको छ, दिने पालो हाम्रो'
ब्रिटेनमा रहेका नेपाली सङ्घसंस्थाहरूले खासगरी भूतपूर्व गोर्खा वृद्धवृद्धाहरूलाई लक्षित गरेर स्वयम्सेवी समूहहरू बनाएका छन् ।
भूतपूर्व गोर्खा सैनिकहरू र तिनका परिवारको बाक्लो बसोबास रहेको अल्डरशट क्षेत्रमा वृद्धवृद्धाहरूलाई सम्पर्क गरी आवश्यक सामग्री किनेर ढोकामै छाडिदिने गरेको शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रका बिक्रम भट्टराईले बताए।
सोही ठाउँमा एक रेस्टुरेन्ट सञ्चालन गरिरहेका एनआरएन यूकेका पूर्व उपाध्यक्ष शेरबहादुर सुनारले अशक्त तथा वृद्धवृद्धहरूकालागि खाने कुरा पकाएर घरमै पुर्याउने अभियान थालेको जानकारी दिए।
उनले आफ्नै रेस्टुरेन्ट बाहिर सुप र खानेकुरा राखेर हरेक दिन केही घण्टा सबैका निम्ति नि:शुल्क उपलब्ध गराउने योजना पनि बनाएका छन्।
उनले भने, "बेलायतले हामीलाई बस्न, निशुल्क स्वास्थ्य सेवा र भत्ता दिइरहेको छ। सिङ्गै मुलुक सङ्कटमा परेको बेला हाम्रोतर्फबाट पनि सक्दो सहयोग गर्नुपर्छ।"
सतर्कता अपनाउन आग्रह
गैरआवासीय नेपाली सङ्घ यूकेले पनि एउटा हेल्पलाइन स्थापना गरेर कोरोनाभाइरसको सङ्क्रमणबाट पीडित स्थानीय नेपाली समुदायलाई सहयोग गर्ने काम अगाडि बढाइएको जनाएको छ।
लन्डनस्थित नेपाली दूतावासले पनि एक विज्ञप्ति प्रकाशित गरी ब्रिटेन, आयरल्याण्ड र माल्टामा कोरोनाभाइरसको सङ्क्रमण फैलिरहेको सन्दर्भमा ती मुलुकमा बसोबास गरिरहेका सबै नेपाली र गैरआवासीय नेपालीहरूलाई सम्बन्धित सरकारले जारी गरेका नियमहरू पालना गरेर उच्च सर्तकता अपनाउन आग्रह गरेको छ।
दूतावासले आपत्विपद्मा परेका नेपालीहरूलाई सुझाव, सूचना आदानप्रदान तथा यथासम्भव सहयोग उपलव्ध गराउन सङ्घसंस्थाहरूलाई अनुरोध पनि गरेको छ।