प्रतिबन्ध उल्लंघन गर्दै इतिहाडले दुबईबाट ल्यायो दुई नेपाली, क्वारेन्टाइनमा पठाइयो
    Source: setopati.com
    Source Url: https://www.setopati.com/social/202219/

    इतिहाड एअरबाट नेपाल फर्किएका दुई जना नेपालीलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखिएको छ। नेपाली सेनाका महासेनानी शिवप्रसाद पौडेलले उनीहरूलाई केहीबेर अघि मात्र खरिपाटी ल्याइएको जानकारी दिए।

    सोमबार उनीहरूलाई दुबईले प्रवेशमा रोक लगाउँदै नेपाल फिर्ता पठाएको हो।

    सरकारले प्रतिबन्ध लगाए पनि विमानले सोमबार दुईजना नेपालीलाई बोकेर नेपाल आएको हो। उनीहरू एक जना महिला र एक पुरुष छन्।

    'सुरूमा जहाज अवतरण गर्ने अनुमति दिइएन। तर जहाजले आकाशमै फन्को मारिरह्यो। पछि पाइलटले इन्धन मात्र भरेर फर्किहाल्ने भनेपछि एटिसीले अवतरण गर्ने अनुमति दिएको हो,' नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सेतोपाटीसँग भने, 'इन्धन सकियो भनेर इमर्जेन्सी ल्यान्डिङ अनुमति माग्दा दिनैपर्छ, दिइयो।'

    जहाज अवतरण भएपछि दुई जना नेपाली यात्रु पनि ओर्लिए। खाडी मुलुकबाट आएकाले दुवैलाई खरिपाटीस्थित क्वारेन्टाइन लगियो।


    खरिपाटी क्वारेन्टाइनमा यसअघि ७१ जना नेपालीलाई राखिएको छ।

    सोमबार मात्र फ्रान्सबाट आएकी एक नेपाली युवतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनको हाल टेकु अस्पतालमा उपचार भइरहेको छ।

    सोमबारै साँझ सरकारले मंगलबार बिहान ६ बजेबाट लागू हुनेगरी एक साता 'लकडाउन' घोषणा गरेको छ। सरकारले सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ।