कोरोना अस्पतालमा मृत्यु भएका बिरामीमा देखिएन कोरोना 

    काठमाडौँ — भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका कोरोना आशंका गरिएका युवामा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको अस्थायी अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारले कान्तिपुरलाई बताए।

    आइतबार अस्पताल भर्ना गरिएका वीरगञ्जका ३० वर्षीय युवाको मंगलबार बिहान अस्थायी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। लुपस नामक रोगले पीडित ती युवा केही समयदेखि मिर्गौला र फोक्सोको समस्याले ग्रसित थिए। उपचारका लागि उनलाई वीरगञ्जबाट उनलाई भरतपुर अस्पताल ल्याइएको थियो। ज्वरो र निमोनिया देखिएपछि कोरोनाको आशंकामा कोरोना उपचार अस्पताल ल्याइएको थियो।

    उनको स्वाबको नमूना परीक्षणका लागि सोमबार नै राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको थियो। प्रयोगशाला प्रमुखले फोनमा भरतपुर अस्पतालका मेडिकल सुपरिडेन्डन्टलाई उनको रिपोर्टमा कोरोना नदेखिएको जानकारी गराएको पनि प्रवक्ता अधिकारीले बताए।

    कोरोना विशेष –अस्थायी अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले उनको रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेका हुन्। प्रकाशित : चैत्र ११, २०७६ २३:१७