शनिबार थपिए १ हजार ४१ कोरोना संक्रमित, १५६६ जना डिस्चार्ज
    Source: setopati.com
    Source Url: https://www.setopati.com/social/216070/

    शनिबार देशभर कोरोनाका १ हजार ४१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

    यीसहित हालसम्म संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ९ जनामा कोरोना पुष्टि भएको छ। यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ।

    पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५७ हजार बढीको पिसिआर परीक्षण भएको छ।